नेपाल सिधै टी–२० विश्वकप २०२८ को ग्लोबल छनोटमा, क्षेत्रीय छनोट खेल्न नपर्ने

एक महिना अगाडि
नेपाल सिधै टी–२० विश्वकप २०२८ को ग्लोबल छनोटमा, क्षेत्रीय छनोट खेल्न नपर्ने

काठमाडौं । नेपालले सन् २०२८ को आईसीसी टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट संरचनाअनुसार नेपालले यसपटक एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने छैन।

आईसीसीका अनुसार सन् २०२६ को टी-२० विश्वकप खेलेका तर मुख्य प्रतियोगितामा स्वतः स्थान बनाउन नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा सहभागी गराइने व्यवस्था गरिएको छ। नेपाल पनि यही समूहमा परेकाले क्षेत्रीय छनोटको झन्झटबाट मुक्त भएको हो।

नेपाल सन् २०२६ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। यद्यपि, विश्वकपमा सहभागिताकै आधारमा टोलीले ग्लोबल छनोटमा प्रत्यक्ष स्थान सुरक्षित गरेको छ।

ग्लोबल छनोटमा अफ्रिका, एसिया र युरोपबाट दुई–दुई तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक गरी आठ टोली क्षेत्रीय छनोट पार गरेर सहभागी हुनेछन्। त्यसपछि हुने प्रतिस्पर्धाबाट प्रत्येक क्षेत्रका उत्कृष्ट टोलीसँगै समग्र प्रदर्शनका आधारमा थप तीन टोली गरी सात राष्ट्रले टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन्।

आईसीसीले छनोट प्रक्रियामा न्यूनतम प्रदर्शनको मापदण्ड पनि लागू गर्ने जनाएको छ। यसअघि क्षेत्रीय छनोटबाट मात्रै विश्वकपको यात्रा तय हुने व्यवस्था रहेकामा अब ग्लोबल छनोट प्रणाली पुनः लागू गरिने भएको हो।