काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई २-१ ले पराजित गरी लगातार दोस्रो पटक विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको एटलान्टामा सम्पन्न दोस्रो सेमिफाइनलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दा खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो।
तर खेलको अन्तिम चरणमा अर्जेन्टिनाले प्रभावशाली पुनरागमन गर्यो। ८५औँ मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा इन्जो फर्नान्डेजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
बराबरीपछि लगातार दबाब बनाएको अर्जेन्टिनाले इन्जुरी समयको दोस्रो मिनेटमा अर्को गोल थप्यो। मेस्सीकै उत्कृष्ट पासमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २-१ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ। यता, इंग्ल्यान्ड भने लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलबाटै बाहिरिएको छ।
अब अर्जेन्टिनाले उपाधिका लागि साउन ४ गते बिहान स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले भने तेस्रो स्थानका लागि साउन ३ गते फ्रान्ससँग खेल्नेछ।