काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा दिउँसो र राति दुवै समयमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तराई भूभागनजिक र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि जारी रहेको हो।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, देशका पहाडी भूभागका केही स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानसँगै मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार कोसी र वाग्मती प्रदेशका हिमाली भूभाग तथा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका साथै लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस, कोसी र वाग्मती प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान विभागले गरेको छ।
विभागले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।