राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा बढायो, राम्रो कम्पनीको शेयरमा ८० प्रतिशतसम्म ऋण पाइने

एक महिना अगाडि
राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा बढायो, राम्रो कम्पनीको शेयरमा ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जासम्बन्धी व्यवस्था संशोधन गर्दै राम्रो वित्तीय अवस्थाका कम्पनीहरूको शेयरमा अब ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको छ। यसअघि सबै सूचीकृत कम्पनीका शेयरमा अधिकतम ७० प्रतिशतसम्म मात्रै मार्जिन कर्जा दिने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्ड पूरा गरेका कम्पनीहरूको शेयरलाई उच्च गुणस्तरको धितोका रूपमा मूल्याङ्कन गर्दै थप १० प्रतिशत बिन्दुसम्म कर्जा दिन सक्नेछन्। यससँगै योग्य कम्पनीहरूको शेयर धितो राखेर अधिकतम ८० प्रतिशतसम्म ऋण लिन सकिने भएको हो।

राष्ट्र बैंकले भने यस्तो सुविधा सबै कम्पनीमा लागू नहुने स्पष्ट पारेको छ। कम्पनीको चुक्ता पुँजी, सूचीकृत भएको अवधि, नाफा तथा लाभांश वितरणको अवस्था, क्रेडिट रेटिङ, नियामकीय व्यवस्था पालना र नियमित साधारणसभा सम्पन्न गरेको लगायतका आधारमा संस्थाको सबलता मूल्याङ्कन गर्नुपर्नेछ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाले छुट्टै ‘प्रडक्ट पेपर’ तयार गरी मूल्याङ्कन विधि सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त विवरण सम्बन्धित संस्थाले आफ्नै वेबसाइटमा राख्नुपर्नेछ।

यद्यपि, कर्जा प्रवाह गर्दा शेयरको मूल्याङ्कन भने नेप्सेले प्रकाशित गरेको पछिल्लो १८० कारोबार दिनको औसत अन्तिम मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसकै आधारमा गरिनेछ। साथै, एकपटक कर्जा स्वीकृत भएपछि धितोमा रहेको शेयरको पुनर्मूल्याङ्कन गरेर थप कर्जा दिन नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।