ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा आएको छ। काग, गिद्ध, हाँसलगायत पंक्षीमा बर्डफ्लु (एभियन इन्फ्लुएञ्जा) संक्रमण पुष्टि भएपछि असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना आवश्यक परीक्षण र व्यवस्थापनपछि पुनः खोलिएको हो।
चिडियाखाना प्रशासनका अनुसार संक्रमित पक्षीहरूको उपचार, सरसफाइ तथा जैविक सुरक्षा व्यवस्थापनका काम सम्पन्न गरिएको थियो। त्यसपछि गरिएको वातावरणीय नमुना परीक्षणमा एभियन इन्फ्लुएञ्जा भाइरस नदेखिएपछि सञ्चालन पुनः सुरु गर्ने निर्णय गरिएको हो।
बिहीबार पशुसेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना पुनः खोल्ने निर्णय गरेको चिडियाखाना प्रशासनले जनाएको छ।
चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म प्रवेशका लागि खुला रहनेछ भने आगन्तुकहरूले बेलुका ५ बजाभित्र परिसरबाट बाहिरिनुपर्नेछ।
प्रशासनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गर्न, संक्रमण देखिएका खोरहरूमा लगाइएको रातो रिबन पार नगर्न तथा अनावश्यक भीड नगर्न आग्रह गरेको छ। साथै, आफूसँग ल्याएका खानेकुरा खुला स्थानमा नखान, प्रयोगपछि फोहोर डस्टबिनमा व्यवस्थापन गर्न र अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि अनुरोध गरिएको छ।
चिडियाखाना पुनः सञ्चालनमा आएसँगै आगन्तुकहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै अवलोकन गर्नुपर्ने प्रशासनले जनाएको छ।