काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुन प्रणाली थप सक्रिय हुने जनाएको छ। महाशाखाका अनुसार मनसुन वायुको प्रभावका कारण देशभरका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।
महाशाखाले शनिबारसम्म देशका पहाडी भू–भागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।