मौसम पूर्वानुमान

मनसुन थप सक्रिय, आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना

एक महिना अगाडि
मनसुन थप सक्रिय, आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) र भोलि (आइतबार) देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागका अनुसार शनिबार र आइतबार देशका हिमाली तथा पहाडी भूभागका साथै कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

यस्तै, कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा समेत हुन सक्ने विभागले विशेष मौसम बुलेटिनमार्फत जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना पनि रहेको छ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय बन्ने अनुमान गरिएको हो।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।