काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।
अमेरिकाको मियामीमा सम्पन्न खेलमा इंग्ल्यान्डले सुरुआतदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै पहिलो हाफमै ४-० को बलियो अग्रता बनाएको थियो। खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै खाता खोलेका थिए। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले दोस्रो गोल गरे। बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे।
शाकाको ह्याट्रिकसँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले यो उपलब्धि हासिल गरेका थिए।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो। कप्तान किलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राडली बारकोला र उस्मान डेम्बेलेले समान एक–एक गोल थपे। तर फ्रान्सको प्रयास जितका लागि पर्याप्त हुन सकेन।
हारका बाबजुद दुई गोल गरेका एमबाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याउँदै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा पुगेका छन्। साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पनि अग्रस्थानमा उक्लिएका छन्।
यो नतिजासँगै इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उपाधि जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो।
उता विश्वकप २०२६ को उपाधिका लागि आज राति पौने १ बजे साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच फाइनल खेल हुनेछ।