मौसम पूर्वानुमान

आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना, कहाँ-कहाँ पर्छ पानी ?

एक महिना अगाडि
आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना, कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले केही क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने जनाएको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै मधेश प्रदेशसहित कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी तथा खोलानालाको आसपास अनावश्यक आवतजावत नगर्न तथा सम्भावित बाढी, पहिरो र डुबानबाट सावधानी अपनाउन आग्रह गरेको छ।