काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेको स्पेनले ट्रफीसँगै इतिहासकै सबैभन्दा ठूलो विश्वकप पुरस्कार रकम हात पारेको छ। फाइनलमा अर्जेन्टिनालाई पराजित गर्दै दोस्रो पटक विश्व च्याम्पियन बनेको स्पेनले ५ करोड १० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरेको हो। विजेता टोलीका खेलाडीले च्याम्पियनसिप रिङ (औँठी) पनि पाएका छन्।
यो रकम सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिनाले पाएको ४ करोड २० लाख अमेरिकी डलर भन्दा झण्डै ९० लाख डलर बढी हो। सहभागी टोलीको संख्या ३२ बाट ४८ पुर्याइएकाले फिफाले यस संस्करणमा पुरस्कार रकम पनि उल्लेख्य रूपमा बढाएको हो।
फिफाले विश्वकप २०२६ मा सहभागी सबै ४८ राष्ट्रिय टोलीका लागि कुल ८७ करोड १० लाख अमेरिकी डलर पुरस्कार तथा विभिन्न शीर्षकमा वितरण गरेको जनाएको छ। प्रतियोगिताको बढ्दो आकार र खर्चलाई ध्यानमा राख्दै युरोपेली फुटबल संघहरूको पहलपछि गत अप्रिलमा फिफाले थप १० करोड डलरभन्दा बढी रकम पुरस्कार कोषमा थपेको थियो।
यद्यपि, विश्व फुटबलमा हुने विशाल आर्थिक कारोबारको तुलनामा यो पुरस्कार रकम अझै पनि सीमित मानिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्पेनले जितेको ५ करोड १० लाख डलर रकम इङ्लिस क्लब ब्राइटनले १९ वर्षीय क्रोएसियन डिफेन्डर लुका भुस्कोभिचको स्थानान्तरणका लागि तिरेको शुल्कभन्दा पनि कम रहेको उल्लेख गरिएको छ। यसले आधुनिक फुटबलमा क्लब स्तरको आर्थिक कारोबार विश्वकप पुरस्कारभन्दा पनि ठूलो भइसकेको संकेत गर्छ।
शीर्ष चार टोलीले कति पाए ?
विश्वकप विजेता स्पेनले ५ करोड १० लाख अमेरिकी डलर प्राप्त गर्दा उपविजेता अर्जेन्टिनाले ३ करोड ४० लाख डलर हात पार्यो। तेस्रो स्थानमा रहेको इंग्ल्याण्डले ३ करोड डलर तथा चौथो स्थानमा सीमित फ्रान्सले २ करोड ८० लाख डलर पुरस्कार पाएका छन्।
क्वार्टरफाइनल र प्रि–क्वार्टरफाइनल टोलीलाई पनि आकर्षक पुरस्कार
क्वार्टरफाइनलसम्म पुगेका स्विट्जरल्याण्ड, नर्वे, बेल्जियम र मोरक्कोले प्रत्येकले २ करोड अमेरिकी डलर प्राप्त गरेका छन्।
यस्तै, अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा पुगेका कोलम्बिया, इजिप्ट, अमेरिका, पोर्चुगल, मेक्सिको, ब्राजिल, पाराग्वे र क्यानडाले प्रत्येक १ करोड ६० लाख डलर पुरस्कार पाएका छन्।
अन्तिम ३२ र समूह चरणका टोलीले पनि करोडौं पाए
अन्तिम ३२ मा पुगेका घाना, अल्जेरिया, अष्ट्रेलिया, केप भर्डे, अस्ट्रिया, क्रोएसिया, बोस्निया–हर्जगोभिना, सेनेगल, डीआर कंगो, इक्वेडर, स्वीडेन, आइभरी कोस्ट, नेदरल्याण्ड्स, जर्मनी, जापान र दक्षिण अफ्रिकाले प्रत्येक १ करोड २० लाख डलर प्राप्त गरेका छन्।
समूह चरणबाट बाहिरिएका उरुग्वे, स्कटल्याण्ड, दक्षिण कोरिया, इरान, उज्बेकिस्तान, इराक, साउदी अरेबिया, कुराकाओ, चेक गणराज्य, कतार, पानामा, जोर्डन, ट्युनिसिया, न्युजिल्याण्ड, हाइटी र टर्कीले प्रत्येक १ करोड अमेरिकी डलर पुरस्कार पाएका छन्।
सहभागी सबै टोलीलाई न्यूनतम १ करोड २५ लाख डलर
फिफाले प्रतियोगितामा सहभागी सबै ४८ राष्ट्रिय टोलीलाई कम्तीमा १ करोड २५ लाख अमेरिकी डलर उपलब्ध गराएको छ। यसमध्ये १ करोड डलर समूह चरणमा सहभागिताबापत र २५ लाख डलर प्रतियोगिताअघि प्रशिक्षण, तयारी तथा अन्य व्यवस्थापन खर्चका लागि छुट्याइएको हो।
४८ टोली सहभागी भएको पहिलो विश्वकपसँगै फिफाले पुरस्कार रकममा पनि ऐतिहासिक वृद्धि गरेको छ। यसले विश्वकपको व्यावसायिक मूल्य, प्रसारण अधिकार र विश्वव्यापी बजार विस्तारसँगै अन्तर्राष्ट्रिय फुटबलमा आर्थिक प्रतिस्पर्धा नयाँ उचाइमा पुगेको संकेत गरेको छ।