काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ रहेकाले मौसम पूर्णरूपमा बदली भएको छ।
महाशाखाका अनुसार देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन-चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज रातिको मौसम
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका थोरै स्थान, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।