बौद्धमा महिलाद्वारा आत्मदाहको प्रयास

एक महिना अगाडि
बौद्धमा महिलाद्वारा आत्मदाहको प्रयास

काठमाडौं । काठमाडौंको बौद्धगेट नजिक एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनी गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार दिउँसो करिब पौने ३ बजे काठमाडौं महानगरपालिका–६ बौद्धगेट नजिक काभ्रे घर भई गोकर्णेश्वरको माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले आफूमाथि पेट्रोल छर्केर आगो लगाएकी हुन्।

प्रहरीका अनुसार श्रीमान्सँग भएको विवादपछि उनले आफूहरूले सञ्चालन गर्दै आएको खाजा पसल पछाडिको पार्किङ क्षेत्रमा पुगेर आत्मदाहको प्रयास गरेकी थिइन्। श्रीमान्ले तत्काल आगो निभाएपछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गुरुङको छाती, अनुहार र दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। उनको अवस्था गम्भीर रहे पनि उपचार जारी रहेको जनाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।