काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लाग्दै २ हजार ७२६.०३ बिन्दुमा पुगेको छ। यो जेठ २८ यताकै उच्च स्तर हो।
सोमबार ४१.७० अंकले बढेको बजार मंगलबार पनि हरियो रहँदा लगानीकर्ताको उत्साह कायम देखिएको छ।
आज १०३ कम्पनीको शेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबारका क्रममा नेप्से दिउँसो १२ः४९ बजे २ हजार ७५३ बिन्दुसम्म पुगेको थियो।
कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
समूहगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै २.८८ प्रतिशत बढेको छ। अन्य समूह १.२० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६४ प्रतिशत, लगानी ०.४९ प्रतिशत तथा बैंकिङ ०.०९ प्रतिशतले उकालो लागेका छन्।
यता विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स तथा निर्जीवन बीमा समूहका सूचक भने सामान्य घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यसपछि कालंगा हाइड्रोपावर, बोटलर्स नेपाल (बालाजु), सानीगढ हाइड्रोपावर, स्नो रिभर्स र रिडी पावरका शेयरमा उल्लेख्य वृद्धि भएको छ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, भुजुङ हाइड्रोपावर र चिरख्वा हाइड्रोपावरका शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।
कारोबार रकमका आधारमा मंगलबार रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन्।