मौसम पूर्वानुमान

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

एक महिना अगाडि
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा वाग्मती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

हिमाली भूभागका केही स्थानमा भने मेघगर्जनसहित वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, मौसमविद् विनोद पोखरेलले आगामी तीनदेखि चार दिनसम्म वर्षाको मात्रा केही घट्ने भएकाले भारी वर्षाको जोखिम तुलनात्मक रूपमा कम रहने बताएका छन्। उनका अनुसार आगामी दुई हप्तासम्म दैनिकजसो वर्षा भए पनि तराईभन्दा पहाडी क्षेत्रमा बढी वर्षा हुने सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।