काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४५औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
वि.सं. २०३९ साल साउन ६ गते निधन भएका वीपीको योगदानको स्मरण गर्दै नेपाली कांग्रेस तथा विभिन्न संघ–संस्थाले श्रद्धाञ्जली सभा, विचार गोष्ठी, रक्तदान, वृक्षरोपण र अन्य रचनात्मक कार्यक्रम आयोजना गरेका छन्।
प्रजातान्त्रिक समाजवादका प्रमुख प्रवर्तक मानिने वीपी कोइराला वि.सं. २०१५ सालको आमनिर्वाचनपछि नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनको नेतृत्वमा बिर्ता उन्मूलन तथा ‘जमिन जोत्नेको’ भन्ने भूमिसुधार कार्यक्रम लागू गरिएको थियो, जसलाई नेपालको इतिहासमा महत्वपूर्ण सुधारका रूपमा लिइन्छ।
राजनीतिसँगै साहित्यमा पनि उनको उल्लेखनीय योगदान छ। दोषी चश्मा, तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन र हिटलर र यहुदी उनका चर्चित कृतिमध्ये पर्छन्। नेपाली साहित्यमा उनलाई मनोवैज्ञानिक यथार्थवादी धाराका प्रमुख प्रवर्तकमध्ये एक मानिन्छ।
यस वर्षको स्मृति दिवस भने नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजनका बीच मनाइँदैछ। संस्थापन पक्ष र इतर समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्।
संस्थापन पक्षले जलवायु परिवर्तन तथा पार्टीको नयाँ अभियान सार्वजनिक गर्ने कार्यक्रम राखेको छ भने निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले संयुक्त रूपमा वीपी स्मृति सभा आयोजना गरेका छन्।
राजनीतिक विश्लेषकहरूले कांग्रेसले वीपीको मेलमिलापको नीति, लोकतान्त्रिक मूल्य–मान्यता र वैचारिक दृष्टिकोणलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याइरहेका छन्।