काठमाडौं । देशका विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेकाले कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशभर सामान्य बदली रहने, हिमाली भूभागका थोरै स्थान तथा पहाडी र तराईका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको छ।
मौसम विभागले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी तथा खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।