मौसम पूर्वानुमान

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

४ हप्ता अगाडि
आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न प्रदेशमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो भारी वर्षा हुन सक्ने जनाएको छ।

विभागका अनुसार रातिको समयमा वाग्मती, गण्डकी र कोसी प्रदेशका पहाडी क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने अनुमान गरिएको छ भने मधेस र कोसी प्रदेशको तराईमा आंशिक बदली रहनेछ।

हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोसी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।

रातिको समयमा देशभर सामान्य बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको गतिविधि बढ्ने सम्भावना छ।

मौसम विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदी–खोला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।