काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (आइतबार) वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। अहिले कोसी प्रदेशको तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहे पनि देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न र आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।