काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजश्व विभागसँग स्पष्ट राय मागेको छ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गर्दै मासिक रिडिङका आधारमा बिलिङ हुने भएकाले असार १ देखि ३२ गतेसम्मको खपतको बिल साउन १ गतेपछि जारी हुँदा भ्याट लागू हुने वा नहुने विषय स्पष्ट गर्न आग्रह गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पनि यस विषयमा देखिएको अन्योल तत्काल हटाउन निर्देशन दिँदै कानुनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न प्राधिकरणलाई आग्रह गरेका छन्।
सरकारले आर्थिक ऐन, २०८३ अनुसार साउनदेखि ५० युनिटभन्दा बढी विद्युत् उपभोग गर्ने उपभोक्ताको महसुलमा ५ प्रतिशत भ्याट लागू गर्ने व्यवस्था गरेको छ।
तर असार महिनाकै विद्युत् बिलमा नयाँ कर जोडिएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। अब आन्तरिक राजश्व विभागको रायपछि यस विषयमा स्पष्टता आउने अपेक्षा गरिएको छ।