काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार दिउँसो र राति दुवै समयमा केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने कोशी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
रातिको समयमा भने देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यसैबीच, मौसमविद् विनोद पोखरेलले आज बेलुका र भोलि पनि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको बताएका छन्। उनका अनुसार पूर्वी तराईका धेरै स्थान अझै सुक्खा रहे पनि केही क्षेत्रमा मात्र वर्षा हुन सक्छ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमा रहेको विभागले जनाएको छ।