सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने नौ प्रहरीसहित १८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३ का ३० वर्षीय ओमप्रकाश मेहता रहेका छन्। प्रहरीका अनुसार गोली लागेर घाइते भएका मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घटनामा नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच र प्रदर्शनकारी पक्षका नौ जना गरी कुल १८ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सोमबार राति करिब १०:३० बजे बोलबम यात्राका लागि ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ जाँदै गरेको एक समूह र होहल्लाको विरोध गर्ने अर्को समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले भीड नियन्त्रणका लागि गोली चलाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।