नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन, केही दिन निःशुल्क सञ्चालन

४ हप्ता अगाडि
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन, केही दिन निःशुल्क सञ्चालन

काठमाडौं । सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उदघाटन हुँदै छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायत उच्च अधिकारीहरूको उपस्थितिमा बिहान सुरुङमार्ग उद्घाटन गरिदैछ ।

उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्नेछ। कार्यक्रमअनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा यातायात सञ्चालनको शुभारम्भ गर्नेछन्।

सुरुवाती चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अन्य अत्यावश्यक सेवाका सवारीलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। केही दिन सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरिने भएकाले त्यस अवधिभर सर्वसाधारणका सवारीलाई प्रवेश दिइने छैन। परीक्षण अवधि समाप्त भएपछि सबै वर्गका अनुमतिप्राप्त सवारीसाधन सञ्चालनमा ल्याइनेछ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने सडक विभागले जनाएको छ। परीक्षणपछि भने कुल २ हजार ६८८ मिटर लामो सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको प्रकारअनुसार शुल्क लाग्नेछ।

विभागका अनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा रु ११५ तथा बाहिरिँदा रु ८० शुल्क लाग्नेछ। ठूला बस र ट्रकले काठमाडौं प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २०० शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन। साथै डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ तथा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न रोक लगाइएको छ।

यस आयोजनाअन्तर्गत मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुई वटा सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङमार्गबाट नियमित सवारी सञ्चालन हुनेछ भने आपत्कालीन उद्धारका लागि छुट्टै उद्धार सुरुङ प्रयोग गरिनेछ।

जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस परियोजनामा जापान सरकारको करिब रु २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब रु ६ अर्ब लगानी रहेको छ।