काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सारेको पार्टी निर्माणको अवधारणा नेपालसहित विश्वका राजनीतिक दलहरूका लागि पनि अनुकरणीय र उपयोगी हुन सक्ने वक्ताहरूले बताएका छन्। उनीहरूले सुशासन, अनुशासन, जनकेन्द्रित विकास, अध्ययनशील नेतृत्व, आत्मसमीक्षा तथा भ्रष्टाचारविरुद्धको अभियानलाई सि जिनपिङको पार्टी निर्माणको मूल आधारका रूपमा व्याख्या गरेका छन्।
काठमाडौंमा फ्रेन्ड्स अन क्लाउडले आयोजना गरेको ‘पार्टी निर्माणमा सि जिनपिङको अवधारणा’ विषयक कार्यक्रममा राजनीतिज्ञ जगन्नाथ खतिवडा, परराष्ट्रविद् डा. गोपाल खनाल, पूर्वराजदूत महेशराज दाहाल, अनुसन्धानकर्ता डा. दीपक देवकोटा तथा संस्थाका अध्यक्ष शोभित उप्रेतीले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै पूर्वराजदूत महेशराज दाहालले राष्ट्रपति सि जिनपिङको अध्ययनशील स्वभाव नै पार्टी र राष्ट्र निर्माणको सफल आधार बनेको बताए। उनका अनुसार कठिन परिस्थितिमा श्रम शिविरमा रहँदा पनि सिले अध्ययनलाई निरन्तरता दिएका थिए, जसले उनको दूरदृष्टि र परिवर्तनकारी नेतृत्व विकास गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
दाहालले सिले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नसमेत लामो संघर्ष गर्नुपरेकाले पार्टी कस्तो हुनुपर्छ भन्ने विषयमा उनको गहिरो बुझाइ विकसित भएको बताए। “राम्रो दृष्टिकोण, स्पष्ट लक्ष्य र अनुशासित संगठन भए पार्टी मात्र होइन, देश पनि समृद्ध बन्न सक्छ भन्ने कुरा राष्ट्रपति सिले व्यवहारमै प्रमाणित गर्नुभएको छ,” उनले भने।
उनले भ्रष्टाचारविरुद्धको कठोर अभियान, पार्टीभित्रको शुद्धीकरण, नेतृत्वको जिम्मेवारीबोध, प्रविधिको विकास, जनसहभागिता तथा विज्ञान–प्रविधिमा गरिएको लगानीलाई सि जिनपिङको पार्टी निर्माणका प्रमुख आधारका रूपमा उल्लेख गरे।
अनुसन्धानकर्ता दीपक देवकोटा ले राष्ट्रपति सि जिनपिङले राज्यप्रति जनतामा डर होइन, भरोसा जगाउने वातावरण सिर्जना गरेर सफलता हासिल गरेको धारणा राखे। जनतालाई केन्द्रमा राखेर पार्टी र राज्य सञ्चालन गर्ने नीति नै उनको सफलताको मुख्य कारण भएको उनले बताए।
देवकोटाका अनुसार जनविश्वास प्राप्त गर्ने पार्टी निर्माणका लागि सिले सुशासन, प्रभावकारी सार्वजनिक सेवा र राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकता दिएका छन्। “जनताको विश्वास जित्न सक्ने पार्टी नै दीर्घकालसम्म टिक्न सक्छ भन्ने सन्देश राष्ट्रपति सिको अभ्यासले दिएको छ,” उनले बताए।
परराष्ट्रविद् गोपाल खनाल ले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद र विश्वव्यापी सुशासनको अवधारणालाई सि जिनपिङको राजनीतिक दर्शनको केन्द्रबिन्दु रहेको बताए। उनले पार्टी नियमबाट र राज्य कानुनबाट सञ्चालन हुनुपर्ने सिद्धान्तलाई सिले संस्थागत गरेको उल्लेख गरे।
“जनतालाई विकास, समृद्धि र स्थायित्व दिने सोच नै राष्ट्रपति सिको मूल राजनीतिक दर्शन हो,” उनले भने।
खनालले चीनमा आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न ७० लाखभन्दा बढी व्यक्तिमाथि कारबाही गरिएको उदाहरण प्रस्तुत गर्दै सि जिनपिङको सुशासन अभियानलाई प्रभावकारी र परिणाममुखी अभियानका रूपमा व्याख्या गरे।
राजनीतिज्ञ जगन्नाथ खतिवडाले अनुशासन, निरन्तर अनुगमन र आत्मसमीक्षाको संस्कृतिलाई राष्ट्रपति सिको पार्टी निर्माणको आधारशिला भएको बताए। उनका अनुसार सिले विचार निर्माण, राजनीतिक निर्माण र संगठन निर्माणलाई समान रूपमा जोड दिँदै पार्टीमा गुणस्तरीय, सक्षम र प्रतिबद्ध सदस्यलाई मात्र स्थान दिने नीति अपनाएका छन्।
खतिवडाले चीन विश्वको शक्तिशाली राष्ट्रका रूपमा स्थापित हुनुमा दीर्घकालीन योजना, स्पष्ट नीति र संगठनात्मक अनुशासनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालले पनि दलीय एकता, संस्थागत विकास र दीर्घकालीन राष्ट्रिय सोचबाट धेरै कुरा सिक्न सक्ने बताए।
कार्यक्रमका अध्यक्ष शोभित उप्रेतीले विश्व राजनीतिक परिवेशमा विभिन्न मुलुकका विकासका अनुभव र राजनीतिक अभ्यासबारे बहस तथा अध्ययन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले नीति निर्माण र वैचारिक छलफललाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रपति सि जिनपिङको पार्टी निर्माणसम्बन्धी अवधारणाको केन्द्रमा जनमुखी शासन, कडा अनुशासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, वैज्ञानिक विकास, प्रविधिमैत्री सोच र दीर्घकालीन राष्ट्रिय दृष्टिकोण रहेको निष्कर्ष निकाल्दै ती अनुभवबाट नेपालले पनि सिक्न सक्ने धारणा व्यक्त गरेका थिए।