गण्डकी । अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार गएराति आएको पहिरोले घर पुरिँदा सुतिरहेका छन्त्यालको घटनास्थलमै मृत्यु भएको हो।
यस्तै, धवलागिरि गाउँपालिका-७ धारापानीस्थित हाडेभिरमा पहिरोमा पुरिएकी ६३ वर्षीया धनकुमारी थापाको प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।
लगातारको वर्षाले बेनीबाट ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पशुचौपाया तथा भौतिक संरचनामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।
पहिरोका कारण बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडक खुलाउन सम्बन्धित निकाय र स्थानीय तहले डोजर परिचालन गरी प्रयास गरिरहेका छन्।