विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सोमबार विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ।
दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका थिए। घाइतेमध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच स्थानमा कर्फ्यु जारी गरे पनि प्रदर्शनकारीले कर्फ्यु उल्लङ्घन गर्दै इनरुवा, कप्तानगञ्ज र लौकही क्षेत्रमा प्रदर्शन गरेका छन्। इनरुवा बजारमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरिएको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका अनुसार प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। झडप र प्रहरी कारबाहीमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। अवस्था तनावपूर्ण बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई घरबाहिर ननिस्कन र सभा–जुलुस नगर्न आग्रह गरेको छ।