काठमाडौं । नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा सञ्चालनमा आएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग उद्घाटन गरेका हुन्।
उद्घाटनअघि वैदिक विधिअनुसार स्वस्तिवाचन र पूजाआजा गरिएको थियो। मन्त्री लम्सालले नेपालतर्फको तथा जापानी प्रतिनिधिहरूले जापानतर्फको शिलालेख अनावरण गरेका थिए। उद्घाटनपछि मन्त्रीसहितको टोलीले सुरुङमार्गको निरीक्षण यात्रा पनि गरेको थियो।
वि.सं. २०७६ मा जापानी कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ले निर्माण सुरु गरेको यो आयोजना जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा करिब २७ अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको हो। मुख्य सुरुङ २.६८ किलोमिटर लामो भए पनि उद्धार सुरुङ र क्रस–प्यासेजसहित कुल लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। परीक्षण अवधि सकिएपछि सबै प्रकारका योग्य सवारीसाधनलाई शुल्कसहित सञ्चालनमा ल्याइनेछ।
कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि ८० देखि ११५ रुपैयाँ तथा ठूला बस र ट्रकका लागि २०० देखि २६० रुपैयाँसम्म शुल्क तोकिएको छ। मोटरसाइकल, पैदलयात्री, तीनपाङ्ग्रे तथा विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।