नेप्सेमा तीव्र गिरावट, ३३ अंक घट्दा कारोबार भने ६ अर्ब नाघ्यो

३ हप्ता अगाडि
नेप्सेमा तीव्र गिरावट, ३३ अंक घट्दा कारोबार भने ६ अर्ब नाघ्यो

काठमाडौं । अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने उच्च अंकले ओरालो लागेको छ। नेप्से ३३.२८ अंकले घटेर २ हजार ७०१.६९ विन्दुमा झरेको हो।

कारोबार सुरु भएपछि बजार केही समय सकारात्मक देखिएको थियो। दिउँसो १२:१३ बजे नेप्से २ हजार ७४४ अंकसम्म पुगे पनि त्यसपछि लगातार बिक्रीको दबाब बढ्दै जाँदा अन्तिमसम्म बजार घट्दो क्रममा रह्यो।

बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। आइतबार ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।

आज ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो। क्षेत्रगत सूचकतर्फ बैंकिङ समूह मात्रै ०.१० प्रतिशतले बढ्यो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घट्दा व्यापार समूह २.२३ प्रतिशत र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले ओरालो लागे।

यसैगरी विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, लगानी र अन्य अधिकांश समूह पनि राताम्मे भए।

हालै सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सर्वाधिक कमाउने कम्पनी बन्यो। गोर्खाज फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य पनि बढ्यो। यता आत्मनिर्भर लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कालंगा हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेस्ट इनको सेयर मूल्यमा उच्च गिरावट देखियो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स अग्रस्थानमा रहे।