सुनसरी । देवानगञ्ज घटनापछि सुरक्षा अवस्था संवेदनशील बनेपछि सुनसरीका विभिन्न क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।
सोमबार बिहानदेखि बख्तरबन्द गाडीसहित नेपाली सेनाले देवानगञ्ज, इनरुवा, लौकही र आसपासका क्षेत्रमा गस्ती बढाएको हो। सेनाले माइकिङमार्फत सर्वसाधारणलाई घरभित्रै बस्न, अफवाहमा नलाग्न र शान्ति कायम राख्न आग्रह गरेको थियो।
कर्फ्यु जारी रहे पनि केही स्थानमा प्रदर्शनकारीले टायर बाल्दै प्रदर्शन गरेका थिए। कप्तानगञ्ज क्षेत्रमा तीनवटा किराना पसल, एउटा ग्यारेज र फार्मेसीमा तोडफोड तथा आगजनीको प्रयास भएपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार गम्भीर अशान्ति नियन्त्रण गर्न प्रहरी मात्र पर्याप्त नहुने अवस्था देखिएमा प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी वा नेपाली सेनाको सहयोग माग्न सक्ने कानुनी व्यवस्था छ।