काठमाडौं । सहकारीमा बचत फसेका पीडितहरूले सरकारले सबै बचतकर्तालाई समान व्यवहार गर्दै रकम फिर्ता गराउनुपर्ने मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय देऊ’, ‘सहकारी पीडितलाई विभाजन नगर’, ‘बचत फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूले साना र ठूला बचतकर्ताबीच विभेद नगरी सबैलाई समान रूपमा रकम फिर्ता गराउनुपर्ने, आवश्यक परे ऋणीबाट असुलउपर गरेर भए पनि बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्।
अभियानले आन्दोलन कुनै राजनीतिक दलको प्रभावमा नभई पीडितकै साझा नेतृत्वमा सञ्चालन भइरहेको दाबी गर्दै सरकारबाट तत्काल ठोस निर्णय नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।