काठमाडौं । सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट हेड रश्मि रिजाल मृत भेटिएको घटनामा प्रहरीले कार्यालयका तीन कर्मचारीमाथि पनि अनुसन्धान अघि बढाएको छ।
४५ वर्षीया रिजाल साउन ८ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। भोलिपल्ट तारकेश्वरस्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा आफ्नै विद्युतीय कारभित्र जलेको अवस्थामा उनको शव फेला परेको थियो।
परिवारले दिएको जाहेरीमा रश्मि सम्पर्कविहीन भएकै दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित तीन कर्मचारी मनमैजुस्थित घरमा पुगेर सोधपुछ गरेको उल्लेख गरेपछि प्रहरीले उक्त विषयमा अनुसन्धान थालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परिवारले जाहेरी दिएपछि त्यसमा उल्लेख भएका सबै पक्षमाथि अनुसन्धान भइरहेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले भने रश्मिले घटनास्थलमा आफैँ पेट्रोल छर्केर आत्मदाह गरेको देखाएको छ। सिसिटिभी फुटेजमा घटनास्थलमा अन्य व्यक्तिको उपस्थिति नदेखिएको, गाडीभित्र तीनवटा लाइटर फेला परेको तथा गाडीको ढोका भित्रबाट बन्द रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाका सबै पक्षबारे थप अनुसन्धान जारी राखेको छ।