काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा साउन १२ गते उनको निधन भएको हो।
हालै मात्र नेपाली कांग्रेसले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका श्रेष्ठ पार्टीका प्रभावशाली तथा अनुभवी नेताका रूपमा परिचित थिए।
स्याङ्जा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठले २०४८ र २०५६ सालको संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय हासिल गरेका थिए। उनले विभिन्न समयमा सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री तथा उद्योग मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
यसका साथै उनी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा विभाजनपछिको समयमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए।
विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठले २०१७ सालदेखि लोकतान्त्रिक आन्दोलनमा सहभागिता जनाएका थिए। उनले २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।
प्रजातन्त्रको पक्षमा संघर्ष गर्ने क्रममा उनले करिब साढे पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आदिवासी, जनजाति, महिला तथा पिछडिएका समुदायको अधिकारका पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएका थिए।
अर्थशास्त्रमा स्नातक श्रेष्ठ राजनीतिक जीवनसँगै व्यापार व्यवसायमा पनि संलग्न थिए। उनी नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्यसमेत रहेका थिए।
उनका ३ छोरा र ६ छोरी गरी नौ सन्तान छन्। नेपाली कांग्रेसका पुराना पुस्ताका प्रभावशाली नेता श्रेष्ठको निधनसँगै नेपाली राजनीतिले एक अनुभवी लोकतान्त्रिक योद्धा गुमाएको छ।