काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य-सचिव रहेका छन्।
समितिलाई घटनाको कारण, सुरक्षा व्यवस्थापन तथा जनधनको क्षतिबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
देवानगञ्ज-कप्तानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको विवाद हिंसात्मक बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनापछि उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी राखेको छ।