काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनको बदलिँदो स्वरूपलाई लक्षित गर्दै साइबर ब्यूरोअन्तर्गत विशेष "एन्टी साइबर स्क्याम सेल" स्थापना गर्ने तयारी गरेको छ।
विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय मानव बेचबिखन परम्परागत रूपबाट डिजिटल माध्यम हुँदै ‘साइबर स्लेभरी’ र ‘फोर्स्ड क्रिमिनालिटी’तर्फ रूपान्तरण भइरहेको बताए।
उनका अनुसार आकर्षक रोजगारी र उच्च तलबको प्रलोभनमा विदेश पुर्याइएका नेपालीलाई बन्धक बनाएर अनलाइन ठगी तथा साइबर अपराधमा संलग्न गराउने प्रवृत्ति बढ्दो छ। यस्तो अपराध नियन्त्रणका लागि स्क्याम सेन्टरबाट सञ्चालित गिरोहको पहिचान र अनुसन्धान गर्ने उद्देश्यले विशेष सेल स्थापना गर्न लागिएको हो।
नेपाल प्रहरीका अनुसार पछिल्ला तीन वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ५३० वटा मुद्दा दर्ता भएका छन्। ती घटनामा ७१० जना पीडित रहेकोमा ६१० जना महिला तथा बालबालिका छन्। यस्तै दक्षिणपूर्वी एसिया र भारतबाट उद्धार गरिएका २ हजार ५२ जनामध्ये १ हजार ७८७ जना महिला तथा बालबालिका रहेका छन्।
संयुक्त राष्ट्रसंघको प्रतिवेदन उद्धृत गर्दै कार्कीले नेपाल दक्षिण एसियामा मानव बेचबिखनबाट बढी प्रभावित मुलुकमध्ये शीर्ष चारभित्र रहेको उल्लेख गरे। उनले अब अपराध अनुसन्धानसँगै पीडितको शारीरिक, मानसिक र आर्थिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिलाउने प्रक्रियालाई पनि प्राथमिकता दिइने बताए।