नेप्सेमा लगातार दोस्रो दिन गिरावट, ४.६४ अंक घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित

७ घण्टा अगाडि
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, ४.६४ अंक घट्दा कारोबार ४ अर्ब ४२ करोडमा सीमित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। सोमबार ३३.२८ अंकले घटेको बजार मंगलबार थप ४.६४ अंकले घट्दै २ हजार ६९६.९७ विन्दुमा झरेको हो। अघिल्लो कारोबार दिन नेप्से २ हजार ७०१.६१ विन्दुमा बन्द भएको थियो।

दिनभर बजार उतारचढावपूर्ण रह्यो। कारोबार सुरु भएपछि केही सुधार देखिए पनि दिउँसो १२:१० बजे नेप्से कारोबार अवधिकै न्यूनतम २ हजार ६८१ विन्दुसम्म झरेको थियो। त्यसपछि केही सुधार आए पनि बजार अन्ततः नकारात्मक अवस्थामा बन्द भयो।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत रूपमा सबै सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ।

फाइनान्स, होटल तथा पर्यटन, व्यापार र जलविद्युत् समूहमा सामान्य वृद्धि भएको छ। फाइनान्स समूह ०.०६ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत, व्यापार ०.७४ प्रतिशत र जलविद्युत् ०.१५ प्रतिशतले बढेका छन्।

यता बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा अन्य समूहका सूचक भने घटेका छन्। सबैभन्दा धेरै 'अन्य' समूह ०.८० प्रतिशतले ओरालो लागेको छ।

हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य लगातार दोस्रो दिन पनि १५ प्रतिशतले बढ्दै सर्वाधिक कमाउने कम्पनी बन्यो। यस्तै याम्बलिङ हाइड्रोपावर ४.३९ प्रतिशत, सिर्जनशील लघुवित्त २.९९ प्रतिशत र सानीगढ हाइड्रोपावर २.८८ प्रतिशतले उकालो लागे।

यता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ६.०७ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी बन्यो। धौलागिरि लघुवित्त ३.४२ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावर २.७५ प्रतिशतले पनि मूल्य गुमाए।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा बढी कारोबार भएका कम्पनीमा परेका छन्।