चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन नजिक पहिरोका कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
मंगलबार बिहान करिब साढे ८ बजे सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। दुवैतर्फ लामो सवारी जाम लाग्दा यात्रुहरू घण्टौँ अलपत्र परेका थिए।
सडक डिभिजन कार्यालय, नेपाल प्रहरी तथा अन्य निकायको समन्वयमा डोजर प्रयोग गरी पहिरो हटाइएपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले वर्षायामका कारण पुनः पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक सतर्कता अपनाएर मात्रै यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।