काठमाडौं । देशका पूर्वी तथा मध्य क्षेत्रका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा अन्य प्रदेशको तुलनामा बढी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै काठमाडौंको बुढानीलकण्ठमा ५१ मिलिमिटर र मकवानपुरको मकवानपुरगढीमा ३७ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं, मकवानपुर, काभ्रे, तनहुँ, सर्लाही र म्याग्दी लगायतका जिल्लामा उल्लेखनीय वर्षा भएको महाशाखाले जनाएको छ।
हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी र कोशी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले तनहुँको कोटागाउँ, काभ्रेको रोशी खोला, पाँचखाल, मण्डन र साँगाचोक, सर्लाहीको मनुसमारा, काठमाडौंको बागमती र विष्णुमती नदी आसपास तथा भक्तपुरको हनुमन्ते खोलाको तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ। ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
रातभर वर्षा भए पनि काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नागढुंगा–मुग्लिन सडकखण्डमा सवारी आवागमन सामान्य रहेको मुग्लिन प्रहरीले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र बेलुकीपख पनि केही स्थानमा मुसलधारे वर्षा हुन सक्ने जनाएको छ। विशेषगरी कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।