काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्यतया बदली रहनेछ। मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।
हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोसी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात, पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा, साथै तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।
मौसम विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी–नाला आसपास, पहिरोको जोखिम भएका स्थान तथा डुबान हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।