काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज बिहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्ने भएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि आमन्त्रण गरिएको छ।
रास्वपाले सबै दललाई औपचारिक पत्राचार गर्नुका साथै सभापति लामिछानेले विभिन्न दलका नेताहरूसँग टेलिफोनमार्फत पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन्।
महामन्त्री आचार्यले हालको असहज परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न, द्वेष फैलिन नदिन तथा शान्ति–सुरक्षा सुदृढ बनाउन प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको भन्दै सोही उद्देश्यले बैठक आयोजना गरिएको जानकारी दिएका छन्।
बैठकमा सुनसरी घटनाको पछिल्लो अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा राजनीतिक दलहरूको साझा धारणा र आगामी कदमबारे छलफल हुने अपेक्षा गरिएको छ।