काठमाडौं । सुनसरीलगायतका जिल्लामा पछिल्ला दिनमा विकसित घटनालाई लिएर नौ राजनीतिक दलले संयुक्त रूपमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा सातबुँदे अपिल जारी गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकपछि जारी अपिलमा सबै दलले उत्पन्न समस्याको शान्तिपूर्ण, दिगो र प्रभावकारी समाधानका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दलहरूले सदियौँदेखि कायम रहेको सामाजिक भाइचारा र धार्मिक सहिष्णुतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा आवेग र उत्तेजनाबाट टाढा रहन नागरिकसँग आग्रह गरेका छन्।
संयुक्त अपिलमा प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म पुर्याउन निर्देशन दिइएको छ। स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजसँग समन्वय गरेर सामाजिक विश्वासको वातावरण बनाउन पनि आह्वान गरिएको छ।
यसका साथै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न, सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित समाचार सम्प्रेषण गर्न तथा सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही, पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरिएको छ।