नेप्से लगातार तेस्रो दिन ओरालो, ७.७९ अंक घटेर २६८८ विन्दुमाकाठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि घटेको छ। बुधबार नेप्से ७.७९ अंकले घटेर २ हजार ६८८ विन्दुमा कायम भएको हो।
कारोबारका क्रममा बजार केही समय सकारात्मक देखिए पनि त्यो टिक्न सकेन। दिउँसो १२:४० बजे नेप्से दिनकै उच्च २ हजार ७०६ विन्दुसम्म पुगेपछि बजार लगातार ओरालो लाग्दै अन्तिम समयमा नकारात्मक अवस्थामा बन्द भयो।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकमध्ये ‘अन्य’ समूह मात्र ०.४३ प्रतिशतले बढ्यो, जबकि बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र व्यापार समूह घटेका छन्।
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य लगातार तेस्रो दिन पनि १५ प्रतिशतले बढेको छ। यस्तै स्नो रिभर्स, खानीखोला हाइड्रोपावर, हिमालयन पावर पार्टनर र मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले पनि लाभ कमाएका छन्।
यता मातृभूमि लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र शुभम् पावर सर्वाधिक घट्ने कम्पनीमा परेका छन्। कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र रिडी पावर अग्रस्थानमा रहे।