काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको छ।
बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। आगजनीबाट क्षति भएका घर, पसल, टहरा तथा घाइतेको उपचारका लागि ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइने पनि निर्णय गरिएको छ।
निर्णयअनुसार पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सामाजिक सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा धार्मिक अगुवासँग समन्वय गरी सद्भाव यात्रा र सार्वजनिक अपिलका कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ।
बैठकले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउन, घाइतेको उपचार र मृतक परिवारलाई थप राहत उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गर्ने तथा प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ।