दुई समुदायबीच भएको झडपपछि तनावग्रस्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलहरूको समन्वित पहलपछि प्रभावित क्षेत्रमा शान्ति र सामाजिक सद्भाव पुनःस्थापित गर्ने प्रयास प्रभावकारी बन्दै गएको हो।
देवानगञ्ज-३ कप्तानगञ्जमा आइतबार राति भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो। त्यसयता सुरक्षा व्यवस्था कडा बनाइएको छ भने स्थानीय समुदायबीच विश्वासको वातावरण सिर्जना गर्न संवाद र सहकार्यलाई प्राथमिकता दिइएको छ।
हरिनगर, भोक्राहा नरसिंहलगायत विभिन्न स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय सद्भाव बैठकहरू आयोजना गरिएका छन्। प्रशासनले दुवै पक्षसँग छुट्टाछुट्टै संवाद गरिरहेको छ भने धार्मिक अगुवा, नागरिक समाज र जनप्रतिनिधिहरूलाई समेत मेलमिलापको पहलमा सक्रिय बनाइएको छ।
गृह मन्त्रालयले अन्य संवेदनशील जिल्लाको सुरक्षा अवस्थाबारे पनि निरन्तर समीक्षा गरिरहेको जनाएको छ। सम्भावित अप्रिय घटना रोक्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। देवानगञ्ज–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाले हवाई गस्तीसमेत सञ्चालन गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासन संयुक्त रूपमा सुरक्षा व्यवस्थापनमा खटिएका छन्।
प्रशासनले सामाजिक सञ्जालमा फैलिने अफवाह र उत्तेजनात्मक गतिविधिप्रति सचेत रहन आग्रह गर्दै कुनै पनि अपुष्ट सूचनाको पछि नलाग्न सर्वसाधारणलाई अनुरोध गरेको छ। स्थानीयबासीलाई आपसी भाइचारा कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न पनि आह्वान गरिएको छ।