मौसम पूर्वानुमान

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हप्ता अगाडि
विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षाको गतिविधि सक्रिय रहने अनुमान गरिएको छ।

विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

यस्तै, कोसी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विशेषगरी कोसी र बाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने कोसी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ।

त्यसैगरी, कोसी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेकाले नदी, खोलानाला आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।