चिकित्सकको आन्दोलन फिर्ता, आजबाट अस्पतालमा नियमित सेवा

३ हप्ता अगाडि
चिकित्सकको आन्दोलन फिर्ता, आजबाट  अस्पतालमा नियमित सेवा

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आज (बिहीबार) देखि देशभरका अस्पतालहरूमा नियमित स्वास्थ्य सेवा सञ्चालनमा आएको छ।

सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलन अन्त्य गरेका हुन्। सहमतिपछि अस्पतालहरूले आकस्मिकसहित सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्न थालेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र नेपाल चिकित्सक संघबीच भएको वार्तामा पाँचबुँदे सहमति भएपछि संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा प्रभावित भएका थिए।

अब आन्दोलन अन्त्य भएसँगै बिरामीहरूले अस्पतालबाट नियमित रूपमा सबै स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्।