जनकपुरधाम । सुनसरीको देवानगञ्ज-३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको प्रभाव मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिन थालेपछि स्थानीय प्रशासनले जनकपुरधाम र सिरहाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सम्भावित हिंसा, हुलदंगा र सार्वजनिक सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले कडा सुरक्षा व्यवस्था लागू गरेको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु लागू गरिएको जानकारी दिए।
कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा अन्य सार्वजनिक गतिविधि गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सिरहाले पनि बिहीबार दिउँसो २ बजेदेखि गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा आन्दोलन तथा सम्भावित हुलदंगा बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उल्लेख छ।
सुनसरी घटनाको विरोधमा बिहीबार बिहानैदेखि जनकपुरधामका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको थियो। प्रदर्शनका कारण बजार क्षेत्र आंशिक रूपमा बन्द भएको छ भने सुरक्षा निकायले जनकपुरधाम, सिरहा तथा आसपासका संवेदनशील क्षेत्रमा अतिरिक्त प्रहरी परिचालन गरी निगरानी बढाएको छ।
प्रशासनले सामाजिक सञ्जालमार्फत फैलिने अफवाहमा विश्वास नगर्न, कानुन हातमा नलिन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।