सिरहा । सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको छ। घटनापछि प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका छन् भने स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको हो। गोलबजार-३ का वडाध्यक्ष धनप्रसाद लामाले मृतकको पहिचान गणेश यादवका रूपमा भएको जानकारी दिएका छन्।
घटनामा अर्का एक जना घाइते भएका छन्। घाइतेको गोलबजारस्थित एक स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाइएको छ।
यसअघि गोलबजार क्षेत्रमा दुई समूहबीच झडप भएको थियो। त्यसपछि प्रदर्शन चर्किँदै जाँदा स्थिति तनावपूर्ण बनेको हो। प्रदर्शनकारीले मृतकको शव सडकमै राखेर विरोध जारी राखेका कारण सुरक्षा निकायलाई अवस्था नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रदर्शनकारीले शव उठाउन नदिएका कारण घटनास्थलको अवस्था अझ जटिल बनेको छ।
उता प्रहरीले भने प्रदर्शन नियन्त्रणका क्रममा प्रत्यक्ष गोली नचलाएको दाबी गरेको छ। प्रहरीका अनुसार भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास मात्र प्रयोग गरिएको हो। मृतकलाई लागेको गोली कहाँबाट चल्यो भन्ने विषयमा भने यकिन हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
घटनापछि जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरू गोलबजार पुगेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायको थप टोली परिचालन गरी क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुनसरीको देवानगञ्ज घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको प्रदर्शनका बीच सिरहाको गोलबजारमा भएको यो घटनाले सुरक्षा चुनौती थप बढाएको छ। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रशासनले जनाएको छ।