लगातार चौथो दिन पनि घट्यो सेयर बजार, नेप्से २६७२ अंकमा

३ हप्ता अगाडि
लगातार चौथो दिन पनि घट्यो सेयर बजार, नेप्से २६७२ अंकमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो साताभर देखिएको गिरावट बिहीबार पनि कायम रह्यो। लगातार चौथो कारोबार दिन बजार ओरालो लाग्दै नेप्से १६ दशमलव २९ अंकले घटेर २६७२ अंकमा झरेको छ।

गत शुक्रबार २७३४ अंकमा रहेको नेप्से चार कारोबार दिनमै करिब ६२ अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै बजारमा बिक्री दबाब देखिएको र अधिकांश समूहगत सूचक राताम्मे हुँदा समग्र बजार प्रभावित भएको हो।

बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ। दिनभर ५९ कम्पनीको शेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत सूचकमध्ये सबै समूहमा गिरावट आएको छ। विकास बैंक समूह १.१२ प्रतिशत र जलविद्युत् समूह १.२० प्रतिशतले सबैभन्दा धेरै घटेका छन्। बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, व्यापार तथा अन्य समूह पनि घटेका छन्।

यसबीच हालै सूचीकृत कम्पनी एभरेस्ट कलरको शेयर मूल्य भने लगातार बढ्ने क्रम जारी रह्यो। बिहीबार पनि कम्पनीको शेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १३८ रुपैयाँ पुगेको छ। सेन्ट्रल फाइनान्स, शुभम् पावर र तारागाउँ रिजेन्सीको शेयर मूल्य पनि सामान्य वृद्धि भएको छ।

यता कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र रिजलाइन इनर्जीका लगानीकर्ताले पनि उल्लेख्य घाटा व्यहोरेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी पावर, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत् तथा सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेका छन्।