काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले सुनसरीमा भएको घटनापछि विकसित सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा सार्वजनिक सुरक्षालाई थप सुदृढ बनाउन प्रभावकारी रूपमा कार्यसम्पादन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको परिषद्को ४३औँ बैठकले सुनसरी घटनाको समग्र समीक्षा गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक रणनीति अपनाउने निर्णय गरेको हो।
परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै सामाजिक सद्भावमा असर पार्न सक्ने सम्भावित गतिविधिको समयमै पहिचान गरी आवश्यक सुरक्षा तथा प्रशासनिक कदम चाल्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
परिषद्ले विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्दै खोज, उद्धार र राहतका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय बढाउने निर्णय गरेको छ। प्राकृतिक विपद्का बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक स्रोत–साधनको व्यवस्थापन र द्रुत प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा जोड दिइएको छ।
सरकारले पछिल्ला घटनाले सामाजिक सद्भावमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।