काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार वर्तमान परिस्थितिबारे देशवासीलाई सम्बोधन गर्न प्रधानमन्त्रीले तयारी गरिरहेका छन्। सुनसरीमा दुई समुदायबीच तनाव सुरु भएको पाँच दिनपछि उनको औपचारिक सम्बोधन हुन लागेको हो।
यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। यद्यपि सरकारले हालसम्म क्षतिपूर्तिसम्बन्धी औपचारिक घोषणा गरेको छैन।
यसैबीच प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी पठाउने निर्णय गरेका छन्। गृहमन्त्रीसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि घटनास्थल पुग्ने तयारीमा रहेको जनाइएको छ।
सरकारले शान्ति सुरक्षा कायम गर्दै प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउने प्रयासलाई तीव्र बनाएको जनाएको छ।