काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई अपिल गरेका छन्।
बिहीबार जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौँदेखि कायम रहेको मेलमिलाप, सहिष्णुता, भ्रातृत्व र सामाजिक सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन्।
राष्ट्रपतिले सरकारले परिस्थिति सामान्य बनाउन आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत हुन आग्रह गरेका छन्।
साथै उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।